आजसम्म सेयरधनी बने हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डको लाभांश पाइने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्टले लाभांश तथा साधारण सभा र एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० ले लाभांश वितरण प्रयोजनार्थ भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्न निर्णय गरेको छ ।

त्यसैले आज भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न भदौ २५ गते बिहान १० बजे आम्रपाली ब्याङ्केट काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १५/१५ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १२.७५ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । 

Share News