वैशाखदेखि बन्द रहेको हेटौंडा सिमेन्टको पुनः उत्पादन सुरु

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिनहरू मर्मत सम्भार सकिएपछि आजदेखि उत्पादन सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले बताए । 

मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि उद्योग बन्द भएको थियो । मेसिन मर्मत गरी कोइला व्यवस्थापन भएपछि उत्पादन सुरु गरिएको निमित्त महाप्रबन्धक साहले जानकारी दिए । 

‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने सर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ । ‘कोइलाको व्यवस्थापनसँगै हामीले उत्पादन सुरु गरेका छौँ,’ उनले भने ।

विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायत कारण उद्योग बन्द हुने खुल्ने क्रम चलिरहेको छ ।

यसअघि गत वैशाख दोस्रो सातादेखि उद्योग सञ्चालन गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगसँग धादिङको जोगीमारा तथा मकवानपुरको ओख्रे, मजुवा र भैँसे गरी चार ठाउँमा चुन ढुङ्गा खानी छ ।

पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसार कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजारलगायत समस्याका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको निमित्त महाप्रबन्धक साहको भनाइ छ । 

Share News