काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ को लाभांश घटेको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुका लागि ४.१८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यसअघि एनएमबि सरल बचत फण्ड-इ का इकाईधनीहरुलाई ४.२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सरल बचत फण्ड-इ को असारसम्म कायम इकाई पुँजी ३ अर्ब ३५ करोड ९१ लाख २१ हजार रुपैयाँको ४.२७ प्रतिशतका दरले १४ करोड ३४ लाख ३४ हजार ९४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
साथै, कम्पनीले उक्त फण्डका लागि लाभांश वितरण प्रयोजनार्थ साउन १५ गते इकाईधनी पुस्तीका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको थियो । साउन १५ गतेसम्ममा योजनाको इकाई पुँजी ३ अर्ब ४३ करोड ३ लाख २४ हजार रुपैयाँ रहेको हुँदा घोषित लाभांश रकम इकाई पुँजीको ४.१८ प्रतिशत रहने कम्पनीले जनाएको छ ।
साथै एनएमबि सरल बचत फण्ड-इ को डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी जनाउने इकाईधनीहरुको प्रतिफल रकममा प्रचलित कानून बमोजिम लागु हुने कर र इकाई खरिद गर्दा लाग्ने निर्धारित शुल्क कट्टी गरे पश्चात् साउन १५ गते समायोजित खुद सम्पत्ति मूल्य ११.२२ प्रति इकाईको आधारमा इकाई खरिद गरिने कम्पनीले जनाएको छ ।
हाल उक्त योजनाको आकार वृद्धिको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन गरिएको र उक्त आवेदन बमोजिम इकाई वृद्धिको स्वीकृती प्राप्त भए पश्चात् इकाईधनीहरुलाई डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लान अन्तर्गत इकाई खरिद गरिने कम्पनीले जनाएको छ ।
इकाई खरिद गर्दा बाँकी रहने रकम र डिभिडेण्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकममा कानून बमोजिम लागू हुने कर कट्टी पश्चात् खुद रकम सम्बन्धित इकाईधनीको हित ग्राही खातामा उल्लेखित बैंक खातामा भदौ ८ गतेदेखि जम्मा गरिने कम्पनीले जनाएको छ ।