तल्लो अप्सुवा जलविद्युतको लागि ८.८४ अर्ब रुपैयाँ लगानी स्वीकृत, पोडवे सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । लगानी बोर्डले तल्लो अप्सुवा जलविद्युत परियोजनाको लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको ६५औँ बैठकले ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत परियोजनाका लागि ८ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको सहसचिव एवं प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए ।

साथै, ८ सय मेगावाटको पश्चिम सेती जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी एवं वित्तीय ढाँचा लगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालन सम्बन्धी परियोजना तथा काठमाडौं-हेटौंडा-वीरगञ्ज पोडवे परियोजनाको सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्न र सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको छ । 

बैठकले माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को विद्युत प्रसारण लाइनको नयाँ रुट अलाइनमेन्टको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालि (केटीअीपीएल)लाई सहमति प्रदान गरेको छ ।

Share News