नबिल बैंकबाट भारतीय लगानीकर्ता बाहिरिँदै

काठमाडौं । नबिल बैंकको भारतीय लगानीकर्ता मुथुट फाइनान्स बाहिरिने भएको छ । आफ्नो स्वामित्वमा कायम रहेको सेयर बिक्री गरेर फाइनान्स बाहिरिने भएको हो ।

बैंकमा मुथुट फाइनान्सको ०.४४ प्रतशत सेयर स्वामित्व सहित चौंथो ठूलो सेयरधनी हो । कम्पनीले बैंकमा रहेको ०.४४ प्रतिशत अर्थात् ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक सेयर नै बिक्रीमा राखेको हो ।

कम्पनीले बिक्रीमा राखेको उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

यदि सो अवधिभित्र खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

भारतीय मुथुट ग्रुप अन्तर्गतको मुथुट फाइनान्स विसं २०७५ मा नेपाल भित्रिएको थियो । चौधरी समूहको लगानी रहेको साबिक युनाइटेड फाइनान्समा लगानी गरेको थियो । साबिक युनाइटेड फाइनान्समा मुथुटले प्रतिकित्ता १९० रुपैयाँका दरले २१ लाख कित्ता सेयर किनेको थियो ।

मुथुट फाइनान्स भारतमा सुन धितो राखेर दिइने कर्जामा लागि चर्चित कम्पनी हो । युनाइटेड फाइनान्स विसं २०७८ असारमा नबिल बैंकमा गाभिएपछि चौथो ठूलो सेयरधनी बनेको थियो । तर, नेपाल भित्रिएको ७ वर्षमै आफ्नो स्वामित्व बिक्री गरेर कम्पनी बाहिरिन लागेको हो ।

Share News