१ हजार ९६७ जनाले पाए बुङ्गल हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड गरिएको छ । स्थानीय बासिन्दालाई बिक्री गरिएको आईपीओ भदौ ५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

कम्पनीका अनुसार अति प्रभावित क्षेत्रका १९६ आवेदकलाई १ लाख १० हजार ५६० कित्ता र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता गरी कुल १ हजार ९६७ जना आवेदकलाई सेयर बाँडफाँड गरिएको हो । 

बाँडफाँडमा परेका सेयरको विवरण बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइडबाट हेर्न सकिने कम्पनीले जनाएको छ । साथै, बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने बताइएको छ । 

कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको थियो । 

आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५ सय कित्ता सेयरमा अति प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १)का स्थानीय र २ लाख ९० हजार ५ सय कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयहरूलाई छुट्याइएको थियो । 

Share News