काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उनको टिप्पणी छ । उनले आयातमा आधारित भन्सार करका भरमा अर्थतन्त्र चलिरहेको जिकिर गरिन् । त्यस्तै, व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजीबाद फस्टाइरहेको उनले बताइन् । राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिति बनेको उनकाे भनाइ छ ।
उनले भनिन्, ‘हाम्रो देशको अर्थतन्त्र, मैले त पहिला पनि भन्ने गरेको छु । यहाँ पनि भन्छु । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ । आयातमा आधारित भन्सारमा चलिरहेको छ । त्यसले व्यापार सन्तुलन भइरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति हो ।’
पूर्वराष्ट्रपति भण्डारीले युवाहरुलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताइन्। नवपुस्ताहरुको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्नेमा उनले जाेड दिइन् ।