एउटै खोलामा ६ वटा जलविद्युत् आयोजना, स्थानीयको करोडौँ लगानी

काठमाडौं । बागलुङको तारा खोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको तारा खोलामा हाल दुई जलविद्युत आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणाधीन र दुई प्रक्रियामा छन् ।

सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका-२ र ३ मा पर्ने दरम खोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन समेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना हो । यसअघि समुदायको प्रयासमा स-साना लघु जलविद्युत् सञ्चालनमा थिए । 

सयपत्री जलविद्युत् निर्माण पश्चात् तारा खोलामा ५ वटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् ।  जसमध्ये तारा खोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य ४ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् । 

पाँच वर्षअघि ३८० किलोवाटको तारा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  हाल यहाँ मध्य तारा खोला, मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेगावट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए । यहाँ ३.५ मेगावाट तल्लो तारा खोला जलविद्युत् आयोजना र ४.५ मेगावाट मध्य दरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ । 

तारा खोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले तारा खोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । 

‘मध्ये तारा खोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छ भने तारा खोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ,’ उनले भने, ‘स्थानीयको समेत करोडौँ लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा  तारा खोलाको आर्थिक विकासमा टेवा पुग्ने छ ।’

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिएपछि स्थानीयस्तरमै उत्साह बढेको बताउँछन् ।

‘हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि धेरै आयोजना बन्नु गर्वको विषय हो । यसले पक्कै पनि गाउँपालिका आर्थिक उन्नयन र नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । यसकारण सबै उत्साहित छौँ,’ उनले भने । 

Share News