विद्या भण्डारीको सम्पर्क कार्यालयको उद्घाटन भोलि हुने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राजधानीको थापागाउँ, नयाँ बानेश्वरस्थित चारतले घरमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्ने भएकी छन् । 

उक्त कार्यालय मदन भण्डारी फाउन्डेसनको नाममा सञ्चालन हुने बताइएको छ । फाउन्डेसनले भाडामा लिएको सो भवन ऐतिहासिक रूपमा पनि विशेष मानिन्छ । 

यही घरबाट २०४८ सालको आम निर्वाचनमा जननेता मदन भण्डारीले चुनावी अभियान सञ्चालन गरेका थिए । 

उक्त भवनबाट चलाइएको निर्वाचन अभियानले मदनलाई ऐतिहासिक जित दिलाएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर मदनले संसदमा पहिलो पाइला टेकेका थिए ।

यही कारणले सो भवनलाई फाउन्डेसनले सम्पर्क कार्यालयका लागि रोजेको हो ।

उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिए पनि ओली बिरामी परेका कारण आउन नसक्ने जानकारी गराएको बुझिएको छ । 

फाउन्डेसनका पदाधिकारीहरूका अनुसार सम्पर्क कार्यालयमार्फत भण्डारी परिवार र संस्थाले विभिन्न सामाजिक तथा राजनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।

यसअघि साउन २२ गते नै सो कार्यालयको तयारीबारे समाचार सार्वजनिक भएको थियो । 
 

Share News