काठमाडौंमा एग्रो डेभलपमेन्ट फण्ड स्थापना, कृषिमा आधारित उद्योग विस्तारमा सहयोग गर्ने

काठमाडौं । कृषिमा आधारित उद्योग व्यवसायको विकास र विस्तारमा सहयोग गर्ने उद्देश्यले काठमाडौंमा एग्रो डेभलपमेन्ट फण्ड स्थापना गरिएको छ । कृषि क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र नेपालीको जीवनस्तर सुधार गर्न फण्ड स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।

राज्यले कृषिलाई प्राथमिकतामा राखे पनि उद्यमीहरूलाई आवश्यक सहयोग प्राप्त गर्न कठिनाइ हुँदै आएको छ । बैंकको सावाँ, किस्ता र उच्च ब्याजदरको बोझ तथा प्राविधिक–विशेषज्ञ सेवा नपाउँदा धेरै उद्योग व्यवसाय समस्या भोगिरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज र काठमाडौंका उद्यमी, व्यवसायी तथा बैंक र बीमा क्षेत्रका व्यक्तिहरूले 'एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड' स्थापना गरेका हुन् ।

कम्पनीको मुख्य प्रवर्द्धकमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूहसहित बैंक तथा बीमा विज्ञहरू रहेका छन् । लगानी संरचनामा नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको सबैभन्दा बढी २३.३३ प्रतिशत सेयर रहेको छ ।

पचास करोड अधिकृत पूँजी र तत्काल चुक्ता पूँजी दश करोडसहितको यो कम्पनी २०८२ साल आषाढमै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको हो । प्राइभेट इक्विटी कारोबार गर्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र साउन दोस्रो सातामा नेपाल धितोपत्र बोर्डमा समेत निवेदन पेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार भट्टराई चयन भएका छन् । समितिमा विजय बहादुर शाह, उमेशलाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह सञ्चालक सदस्यका रूपमा रहेका छन् ।

नेपालमा विगतमा कृषि र अन्य उद्योग व्यवसायमा आवश्यक पूँजी जुटाउन प्रायः स्वपूँजी ९इक्विटी० वा बैंक कर्जामार्फत मात्र सम्भव हुन्थ्यो । तर, इक्विटीभन्दा बैंक कर्जामा बढी भर परिएकाले अत्यधिक ब्याज र किस्ता तिर्न नसक्दा धेरै उद्योग व्यवसाय रुग्ण वा बन्द हुन पुगेका थिए ।

यस्तो अवस्थालाई सम्बोधन गर्दै एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडले समस्यामा परेका कृषि उद्यमीलाई सहयोग गर्ने गरी सञ्चालनमा आउने तयारी गरेको हो । यसका लागि राज्य सरकार, संघीय सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग प्रारम्भिक सम्पर्क समेत सुरु गरिसकेको कम्पनीले जनाएको छ ।

फण्डको मुख्य लक्ष्य कृषिमा सहयोग गर्न इच्छुक संघ–संस्था र नेपालीहरूसँग रहेको अनुत्पादक पूँजी संकलन गरी कृषिमा आधारित उद्योग व्यवसायमा इक्विटी सेयरमार्फत लगानी गर्नु र उद्यमीहरूलाई विशेषज्ञ सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

Share News