काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था तथा वाणिज्य बैंकका संस्थापक समूहका गरी जम्मा ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।
बिक्रीमा रहेका सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ र न्यूनतम आवेदन ५ हजार कित्ता तोकिएको छ । त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ०६५ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु ३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता तोकिएको छ ।
यस्तै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३३० रुपैयाँ र न्यूनतम आवेदन १ हजार कित्ता रहेको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ता सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र न्यूनतम आवेदन १ हजार ३१५ कित्ता तोकिएको छ ।
इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम १०० रुपैयाँ तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं कार्यालयबाट प्राप्त गरी भदौ २४ गते अपराह्न ३:०० बजेभित्र बुझाउनुपर्नेछ । प्राप्त बोलपत्रहरु भदौ २५ गते बिहान ११:०० बजे कार्यालयमा खोलिनेछन् ।
शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ भने बाँकी रहेका सेयर उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदातालाई बिक्री गरिनेछ । मुख्तिनाथ क्यापिटलले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार अघि बढाइने जनाएको छ ।