राष्ट्रिय सहकारी बैंकले घटायो नोक्सानी, जगेडा कोष साढे ४ अर्ब रुपैयाँ

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ८१ लाख ६१ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नोक्सानी घटाएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६६ करोड ६७ लाख ९९ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । 

बैंकको खराब कर्जा बढेसँगै नाफामा प्रभाव परेको देखिन्छ । अघिल्लो वर्ष २२.११ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३९.३७ प्रतिशत पुगेको छ । 

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड १९ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १५ करोड ९१ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ७० लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ६० करोड ८९ लाख ३६ हजार रुपैयाँ गरेको छ । बैंकको सञ्चालन नाफा ९ करोड २ लाख रुपैयाँ ऋणात्मक छ । 

गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ५५ लाख ४७ हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३९ करोड ६५ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो । 

२ अर्ब ८९ करोड १५ लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५४ करोड१४ लाख ६३ हजार रुपैयाँ रहेको छ । 

गत वर्ष बैंकले ४७ अर्ब ५ करोड ६२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड ८१ लाख ७६ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले ६१ अर्ब ७ करोड ७८ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब २३ करोड ८३ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ५९.७६ रुपैयाँ ऋणात्मक थियो । 

Share News