काठमाडौं । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा राना मगर अमेरिकामै रहेको बेला हटाउने तयारी गरेका छन् । प्रतिनिधि सभाकी उपसभामुख मगरविरुद्ध महाभियोग प्रस्ताव पेस गरेर उनलाई हटाउने तयारी एमाले र कांग्रेसको छ ।
सो प्रस्ताव अगाडि बढाउनका लागि सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । दुवै दलले सो प्रस्तावका लागि हस्ताक्षर संकलन थालेका छन् ।
यति बेला उपसभामुख राना मगर भने अमेरिकामा रहेको बुझिएको छ । उनको सचिवालयका अनुसार उनी साउन ३० गते उनी अमेरिकातर्फ गएकी हुन् । उनको १० दिने व्यक्तिगत भ्रमण रहेको बुझिएको छ ।
उपसभामुखलाई हटाउने चर्चा भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तरंग मच्चिएको छ । अहिले नेताहरू धमाधम पार्टी कार्यालयमा उपस्थित हुन थालेका छन् ।
पछिल्लो समय उपसभामुख राना मगरमाथि मानव तस्करीको आरोप लागेको छ । उनले राजीनामाको दबाबका बीच पद नछोडेपछि सत्तारूढ दलहरूले महाअभियोग प्रस्तावमार्फत पदमुक्त गर्ने बाटोतर्फ लागेका हुन् ।
संवैधानिक परिषदमा बहुमत पुर्याउनलाई सत्तामा रहेका प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएको हो ।
यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि छलफल भइसकेको बुझिएको छ ।