काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव पेस गर्ने तयारी भएको बुझिएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारूढ दलहरूले मंगलबार नै उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् ।
सो प्रस्ताव अगाडि बढाउनका लागि सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भइसकेको छ भने कांग्रेस संसदीय दलको बैठक पनि केहीबेरमै सुरु हुँदैछ ।
बैठक आकस्मिक रूपमा बोलाइए पनि सांसदहरूलाई एजेन्डा भने खुलाइएको छैन । तर, एमालेका एक सांसदका अनुसार बैठकको मुख्य एजेन्डा उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोगको प्रस्ताव रहेको सुनाए ।
पछिल्लो समय उपसभामुख राना मगरमाथि मानव तस्करीको आरोप लागेको छ । उनले राजीनामाको दबाबका बीच पद नछोडेपछि सत्तारूढ दलहरूले महाअभियोग प्रस्तावमार्फत पदमुक्त गर्नेबारे छलफल गर्न बैठक बोलाएको बताइएको हो ।
ती सांसदका अनुसार एमालेको संसदीय बैठकमा हस्ताक्षर संकलन पनि सुरु भइसकेको छ । अब कांग्रेसले पनि सांसदहरूको हस्ताक्षर संकलन गरेर प्रक्रिया अगाडि बढाउने छ ।
सांसदहरूको हस्ताक्षर संकलन भएपछि संसदमा महाअभियोग प्रस्ताव गर्ने तयारी रहेको ती सांसदले बताए ।
संवैधानिक परिषद्मा बहुमत पु¥याउनलाई सत्तामा रहेका प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएको हो ।
यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि छलफल भइसकेको बुझिएको छ ।