काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले आज भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४६ लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत असार २७ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले भदौ २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको ललितपुर, सिटिजन्स बैंकको कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ ।