७ बैंकले घटाए खराब कर्जा, ५ बैंकको ५ प्रतिशत नाघ्यो

काठमाडौं । आर्थिक गतिविधिमा शिथिलता छाएसँगै बैंक तथा वित्तीय संस्थाको ब्यालेन्ससिटमा असर परेको देखिएको छ । आर्थिक गतिविधिमा देखिएको सुस्ततासँगै विभिन्न समूहको अराजक गतिविधिले बैंकरहरुलाई ऋण असुलीमा चाप परेको देखिन्छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरुको खराब कर्जा (एनपीएल) औसत ४.२३ प्रतिशत बिन्दु रहेको छ । 

अघिल्लो वर्ष वाणिज्य बैंकहरुको खराब कर्जा औसत ३.७४ प्रतिशत बिन्दु थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको खराब कर्जा १३.२८ प्रतिशत बढेको तथ्याङ्कले देखाएको छ । 

केही वर्षदेखि अर्थतन्त्र दबाबमा रहेको र उद्योगी व्यवसायी तनावमा भएका कारण खराब कर्जा बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे बताउँछन् । साथै अर्थतन्त्र चलायमान हुने गरी खर्च पनि नहुँदा समस्या आएको उनको भनाइ छ । 

उनका अनुसार अर्थतन्त्र पुनः चलायमान भएपछि नगद प्रवाह वृद्धि हुने र ऋण भुक्तानीपश्चात् बैंकको एनपीएल घट्दै जानेछ । पछिल्ला केही सूचकहरू सकारात्मक रहेकाले पुरानै अवस्थामा फर्किने संकेत गरेको उनको भनाइ छ ।

‘लगानीकर्ताहरूको मनोबल घटेको छ । देशको जनसंख्या पलायन भइरहेको छ । जसले देशभित्र माग बढ्न सकेको छैन । सरकारकातर्फबाट धेरै खर्च होला, विकासका गतिविधि बढ्लान, व्यक्तिहरूले घर वा कम्प्लेक्स बनाउलान् भनेर स्टिल, छड, सिमेन्ट उद्योग सञ्चालनमा आए । तर, त्यो अनुसारको माग बढ्न सकेन,’ उनले भने, ‘क्षमता प्रयोगमा नआइसकेपछि तनाव हुन्छ । जब उद्योग व्यवसाय तनावमा हुन्छन् आम्दानी पनि घट्छ । त्यसपछि ऋण तिर्ने क्षमतामा ह्रास आउँछ ।’

समीक्षा अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ । यस बैंकको खराब कर्जा ८२.०२ प्रतिशत बढेर ६.२८ प्रतिशत बिन्दुमा पुगेको छ । अघिल्लो वर्ष बैंकको खरब कर्जा ३.४५ प्रतिशत थियो । 

साथै, यस अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको छ । हिमालयनको खराब कर्जा ४६.१८ प्रतिशत बढेर ७.२८ प्रतिशत बिन्दुमा पुगेको छ । जबकी अघिल्लो वर्ष बैंकको एनपीएल ४.९८ प्रतिशत बिन्दुमा थियो ।  

nullसानिमा बैंकको ७५ प्रतिशत बढेर ३.०१ प्रतिशत विन्दु, नेपाल एसबीआई बैंकको ७०.९१ प्रतिशत बढेर ३.३५ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको २०.७३ प्रतिशत बढेर २.६२ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २०.४८ प्रतिशत बढेर ४.९४ प्रतिशत विन्दु खराब कर्जा रहेको तथ्याङ्क छ ।

तथ्याङ्क अनुसार प्राइम बैंकको १९.५६ प्रतिशत बढेर ५.५६ प्रतिशत विन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) को  १९.१४ प्रतिशत बढेर ५.८५ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको १६.७८ प्रतिशत बढेर ४.८७ प्रतिशत विन्दु खराब कर्जा रहेको छ ।

यस्तै, एनएमबि बैंकको ९.४१ प्रतिशत बढेर ३.७२ प्रतिशत विन्दु, कुमारी बैंकको ७.७१ प्रतिशत बढेर ६.४२ प्रतिशत विन्दु नेपाल बैंकको ३.२३ प्रतिशत बढेर ४.४७ प्रतिशत विन्दु, प्रभु बैंकको ०.४० प्रतिशत बढेर ४.९६ प्रतिशत विन्दु एनपीएल छ ।

गलत ठाउँमा बैंक तथा वित्तीय संस्थाको लगानी हुँदा, जोखिम नहेरीकन वा जोखिम मूल्याङ्कन कम गरेर ऋण प्रवाह गर्दा र अर्थतन्त्र चलायमान नहुँदा व्यापार व्यवसाय बढ्न नपाएपछि खराब कर्जा बढुन पुगेको बैंकहरु बताउँछन् । खराब कर्जा बढी भएका बैंकहरूलाई नजिकबाट नियालिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साथै खराब कर्जा घटाउन नीति तथा व्यवस्था अनुसार निर्देशन समेत दिइरहको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

गत वर्ष विभिन्न ७ बैंकले खराब कर्जा घटाएका छन् । गत वर्ष सबैभन्दा धेरै खराब कर्जा एभरेष्ट बैंकले घटाएको छ । एभरेष्ट बैंकको ४६.४७ प्रतिशत घटेर ०.३८ प्रतिशत विन्दु खराब कर्जा छ । जुन वाणिज्य बैंककै सबैभन्दा कम खराब कर्जा पनि हो । 

यस्तै,स्ट्याण्डर्ड चार्टर्ड बैंकको १८.६९ प्रतिशत घटेर १.७४ प्रतिशत विन्दु, कृषि विकास बैंकको १६.६२ प्रतिशत घटेर ३.२६ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको १६.१२ प्रतिशत घटेर ३.५९ प्रतिशत विन्दु खराब कर्जा रहेको छ । 

यस्तै, लक्ष्मी सनराइज बैंकको ८.२० प्रतिशत घटेर ४.२५ प्रतिशत विन्दु, नबिल बैंकको ४.०४ प्रतिशत घटेर ४.२७ प्रतिशत विन्दु र माछापुच्छ्रे बैंकको ०.७७ प्रतिशत घटेर ३.८३ प्रतिशत विन्दु खराब कर्जा रहेको तथ्याङ्कले देखाएको छ । 

Share News