सडक कालोपत्र नहुँदा वर्षौदेखि सास्ती, १० प्रतिशत मात्रै प्रगति

काठमाडौं । ९ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोक मार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ-घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरावस्थाका कारण सवारी फसेर यात्रुहरूले सास्ती खेप्ने गरेका छन् ।

हिउँदमा धुलाम्मे र बर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वार पार गर्नै समस्या हुने गरेको छ । बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर ९ वर्षअघि ठेक्का लगाइएको थियो  ।

जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । ८ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ ।

चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे । ट्रक मात्रै हैन दर्जनौं कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ ।

नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताए । 

‘पुन ठेक्का लगाएको एक वर्ष भयो, २१ करोड रुपैयाँको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ,’ मिश्रले भने, ‘निर्माण व्यवसायीलाई बर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।’ 

बिहुँ-घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा पुन ठेक्का सम्झौता गरिएको थियो ।

Share News