भीभीआईपीसँग भारतीय सचिवको भेट, कोसँग के भयो कुराकानी ?

काठमाडौं । भारतीय विदेश सचिव बिक्रम मिस्रीले दुई दिने नेपाल भ्रमणमा आएपछि आइतबार नेपालको राजनीतिक माहोल उनकै वरिपरी घुम्यो । आइतबार बिहान मात्रै काठमाडौं आइपुगेका उनको दिनभर नेपालका राष्ट्रपति प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री मन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाटमा बित्यो । 

सुरुमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरे । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आएका मिस्रीले ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर भेटवार्ता गरे । 

उनीहरुबीच के कस्तो छलफल तथा कुराकानी भयो भन्ने विषय नबाहिरिए पनि सामाजिक सञ्जालमा ओलीसँग बसेको उनको मिस्रीको तस्बिर भने भाइरल नै बनेको छ । 

nullप्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव बिक्रम मिस्री । 

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी भएका थिए । 

ओलीसँगको भेटवार्तापछि उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न पुगेका थिए । मिस्रीले राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा राष्ट्रपति पौडेलले भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको धारणा राखेका छन् 

‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक-आर्थिक र प्राविधिक क्षेत्रमा गरेको प्रगतिबाट हामी प्रसन्न छौं, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने । 

nullराष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव बिक्रम मिस्री । 

उनले नेपाल र भारतबीच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए । 

‘नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ,’ राष्ट्रपति पौडेलले भने । 

विदेशसचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएका छन् । 

राष्ट्रपति पौडेलपछिको भेटपछि मिस्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

nullअध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिव बिक्रम मिस्री । 

प्रचण्ड निवास खुमलटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालले जनाएको छ । 

भारतीय विदेश सचिव मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो । 

उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनीहरूबीच नेपाल-भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।  

nullसभापति देउवासँग भारतीय विदेश सचिव बिक्रम मिस्री । 

सचिव मिस्रीले आइतबार नै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । वार्ताका क्रममा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयामका साथै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको बुझिएको छ । 

त्यस अवसरमा मन्त्री डा. राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैं उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएकी छन् । 

उनले दुई देशबीचमा पछिल्लो समय ‘कनेक्टिभिटी’ बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक सङ्लग्नता बढेकामा खुसी व्यक्त गरेकी छन् । मन्त्री डा. राणाले ‘कनेक्टिभिटी’ नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्गको थप विस्तार गरी हवाई सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् ।

उनले भैरहवास्थित गौतमबुद्ध र कास्कीस्थित पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउन आग्रह गरिन् । 

nullपरराष्ट्र मन्त्री देउवासँग भारतीय विदेश सचिव बिक्रम मिस्री । 

नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा मन्त्री डा राणाको जोड थियो । उनले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको तदारुकतामा पनि जोड दिइन् । 

मन्त्री डा. राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिइन् । साथै पछिल्लो समय प्लाईवुड, स्टिललगायत उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दा र ‘बिआइएस’ मापदण्ड तथा यसमा परिरहेका कठिनाइबारे पनि कुरा उठाएकी थिइन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभ, बाढी र डुबान नियन्त्रणका बारेमा आगामी दिनमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा पनि मन्त्री डा राणाले जोड दिएकी थिइन् । 

Share News