काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि अन्तर बैंक ब्याजदर थप घट्न नदिन केन्द्रीय बैंकले उक्त कदम चाल्न लागेको हो ।
राष्ट्र बैंकले ३१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ माग गरेको छ । यस प्रक्रियाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थालाई ध्यानमा राखी बढी भएको मात्र रकम केन्द्रीय बैंकमा जम्मा गर्नेछन् ।
राष्ट्र बैंकका अनुसार आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले राखेको करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्व हुने भएकाले सो रकम व्यवस्थापन गर्न निक्षेप संकलन जारी गरिएको हो ।
गत शुक्रबारसम्ममा वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ बढी तरलता रहेको र हाल करिब साढे ६ खर्ब बराबरको तरलता राष्ट्र बैंकमा रहेको जानकारी समेत दिइएको छ ।