काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट सुनचाँदी आयात गर्दा ५ लाख डलरसम्मको सटही सुविधा दिने भएको छ । आइतबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त निकायलाई परिपत्र जारी गर्दै सटही सुविधाको सीमा बढाएको हो ।
सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्त्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ,’ राष्ट्र बैंकले भनेको छ ।
यसअघि तीन लाख डलरको सीमा थियो । अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
तर, चांदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई विभिन्न व्यवस्था गर्दै सटही सुविधा प्रदान गर्न सकिने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, बुंदा (१) को कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ
यस्तै, सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नु पर्ने व्यवस्था गरेको छ । सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनु पर्ने व्यवस्था गरिएको छ ।