काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट (ब्रोकर नं ७४) ले रुपन्देहीको बुटवल, मिलनचोकमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । श्रावण महिनाको अन्तिम सातादेखि स्वस्तिपूर्वक उद्घाटन गरी शाखा सञ्चालनमा आएको हो ।
बुटवल शाखामार्फत रुपन्देहीसहित पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीलगायतका नजिकका जिल्लाका सर्वसाधारणले दोस्रो बजारमा नयाँ प्रविधिमार्फत सेयर कारोबार गर्न अझ सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल ‘कमल’ ले बताए ।
कम्पनीले निकट भविष्यमा अन्य सम्भावित स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना बनाएको जानकारी प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले दिए । उनका अनुसार, कम्पनीले आम सर्वसाधारणलाई सहज र पहुँचयोग्य बनाउँदै सेयर कारोबार सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।
नेपाल धितोपत्र बोर्डको अनुमति तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले २०८० भाद्र १० गतेदेखि औपचारिक कारोबार शुभारम्भ गरेको हो । कम्पनीले ग्राहकलाई प्रविधिमैत्री ढंगले धितोपत्र ब्रोकरेज र निक्षेप सदस्य (डिपी) सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष प्रदिप केसीले बताए ।