भदौ १८ गतेदेखि आरविवि फोकस ४० म्युचुअल फण्ड बिक्री गर्ने

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्गले भदौ १८ गतेदेखि आरविवि फोकस ४० म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरविवि फोकस ४० बिक्री गर्ने भएको हो ।

कम्पनीले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्नेछ । 

कम्पनीको म्युचुअल फण्डमा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको इकाईमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज १ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । 

केयर रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् ।

Share News