काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । सेयर जारी गर्नका लागि प्रत्याभूतिकर्ताको रूपमा कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेशकुमार रोकाले हस्ताक्षर गरे ।
निर्जीवन लघुबीमा कम्पनीको रूपमा २०८० जेठ ८ गतेबाट व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सोही वर्ष असार ३१ गतेदेखि बीमालेख जारी गर्दै आएको छ ।
कम्पनीले बीमाको पहुँच बाहिर रहेका सीमान्तकृत तथा न्यून आय भएका समुदायलाई सहज पहुँचयुक्त निर्जीवन बीमा सेवा प्रदान गर्दै आर्थिक जोखिम व्यवस्थापन र अप्रत्याशित घटनाविरुद्ध सुरक्षा दिँदै आएको छ ।
लक्षित वर्गको आवश्यकता र आकांक्षालाई ध्यानमा राखी कम्पनीले विभिन्न लघुबीमालेखहरू मार्फत उपयुक्त बीमा विकल्प उपलब्ध गराउँदै आएको छ ।
हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सातै प्रदेशका ३३ कार्यालयमार्फत सेवा दिइरहेको छ ।