स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज साउन ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । 

लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता । कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

अब १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार १९५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

लघुवित्तको आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

Share News