थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयात गर्न भारतले अनुमति दिएको हो ।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातको स्वीकृति दिएको थियो । हालको अनुमति थपिएसँगै नेपालबाट भारतमा १,०११ मेगावाट बिजुली निर्यातको बाटो खुलेको छ । यस्तै, नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ, जसअनुसार कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ ।

हाल स्वीकृत २०० मेगावाट विद्युत् निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जनाएको छ । यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित विद्युत् भारत पठाइनेछ ।

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतलाई विद्युत् निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणका अनुसार, यस आर्थिक वर्षमा थप निर्यात अनुमति र सम्भावित उत्पादन वृद्धिका कारण विद्युत् निर्यात दोब्बर हुने अपेक्षा गरिएको छ ।

Share News