काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पो एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ ।
भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्स्पोमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको थियो । एक्स्पोको सफलताले आयोजक तथा व्यवसायीहरू उत्साहित भएका छन् । नाइमाकी अध्यक्ष रितु वैद्यले एक्स्पोले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको र यसले समग्र अटोमोबाइल क्षेत्रमा नयाँ ऊर्जा थपेको बताइन् ।
एक्स्पोको सफलतासँगै व्यवसायीहरूले सरकारसँग अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन र स्थिर नीतिको माग गरेका छन् । अध्यक्ष वैद्यले हरेक बजेटमा करका दरहरू परिवर्तन हुँदा उद्योगमा अनिश्चितता छाउने र लगानीको वातावरण बिग्रने गरेको बताइन् ।

‘हाम्रो चाहना भनेको अटोमोबाइल क्षेत्रमा नीतिको स्थिरता हो । कम्तिमा ५ देखि १० वर्षसम्म स्थिर नीति भएमा मात्र उद्योगले सही योजना बनाएर अघि बढ्न सक्छ,’ उनले भनिन् ।
उनले सरकारले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तु र कर उठाउने माध्यमको रूपमा मात्र नहेरी अर्थतन्त्र चलायमान बनाउने एक आवश्यक क्षेत्रको रूपमा बुझ्नुपर्नेमा जोड दिइन् ।
एक्स्पोमा सहभागी ५० भन्दा बढी ब्रान्डका व्यवसायीहरूले राम्रो व्यापार र ग्राहकहरूको चासोबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् । छुट र अफरका कारण पनि ग्राहकहरूको आकर्षण बढेको थियो । अवलोकनकर्ताहरूले पनि एकै छानामुनि विभिन्न ब्रान्डका गाडीहरू हेर्न, तुलना गर्न र खरिद गर्न पाउँदा खुसी व्यक्त गरे ।
नाइमाले भविष्यमा यस्ता एक्स्पोलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन भृकुटीमण्डपमा एउटा स्थायी र आधुनिक प्रदर्शनी हल आवश्यक रहेको बताएको छ ।
‘यो विषयमा हामीले अर्थमन्त्रीज्यूसँग पनि कुरा राखेका छौं र उहाँबाट सकारात्मक आश्वासन पाएका छौं,’ अध्यक्ष वैद्यले भनिन्, ‘राम्रो पूर्वाधार भएमा हामीले अझ उत्कृष्ट कार्यक्रम गर्न सक्छौं ।’
बीवाईडी र लिपमोटरको उत्साहजनक बुकिङ
पहिलो पटक आयोजना गरिएको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विभिन्न कम्पनीहरूले प्रदर्शन गरेका विद्युतीय सवारी साधनहरूमा उल्लेखनीय बुकिङ भएका छन् । साइमेक्स इंकले एक्स्पोमा बीवाईडीका मोडेलहरू एट्टो-१ र सिलायन-७ प्रदर्शनीमा राखेको थियो । कम्पनीका अनुसार बीवाईडीका ६ सय भन्दा युनिट गाडी बुकिङ भएका छन् ।
लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले टी०३, बी-१० र सिट्रोन लगायतका मोडेल प्रदर्शनमा राखेको थियो । कम्पनीले २२५ भन्दा बढी युनिट गाडी बुकिङ भएको जानकारी दिएको छ ।
टोयोटाका लागि नेपालमा आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २६ युनिट गाडी बुकिङ भएको जनाएको छ भने हुन्डाईका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ब्रान्डको २०० युनिट र फरथिङ फ्राइडेको ३८ युनिट बुकिङ भएको जनाएको छ ।
त्यस्तै, एलएस अटोले प्रदर्शनमा राखेको एलइभी गाडीको ३७ युनिट, फक्सवागनले २८ युनिट, ओमोडा जेकोका साढे ३ सय, एमजी १ सय ५०, महेन्द्रा १ सय, केई ५०, म्याक्सस १२, एलएस अटो ३५, जीएम डब्लुका ३० वटा गाडीहरु बुकिङ भएको व्यवसायीहरुले जानकारी दिएका छन् ।
दुईपांग्रे सवारीमा पनि आकर्षक बुकिङ भएको छ । वैद्य एनर्जीले प्रदर्शनमा राखेको एथर स्कुटर १५० युनिटभन्दा बढी बुकिङ भएको छ । यस्तै हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज चेतक, केटीएम र ट्रायम्फ ब्रान्डका प्रत्येकमा २०० युनिट बुकिङ भएको जनाएको छ भने मोर्बिडेलि र बेनेली गरी ८० युनिट बुकिङ भएको बताइएको छ ।
