काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरणलाई लगानीकर्ता तथा सेयरधनीहरूले निकै चासोको रूपमा लिइरहेका छन् । आफूले लगानी गरिरहेको कम्पनी र लगानी गर्ने योजना बनाएका व्यक्ति तथा संस्थाका लागि वित्तीय विवरणहरू मुख्य आधार हुन् ।
पछिल्लो तथ्याङ्कअनुसार एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकसहित ७ वटा वाणिज्य बैंकले गत वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका हुन् । सार्वजनिक तथ्याङ्कका आधारमा ७ वटा बैंकले गत वर्ष २० अर्ब ४६ करोड १ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकि अघिल्लो वर्ष तीनै ७ वटा बैंकले १४ अर्ब ४४ करोड ८७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष ४१.६० प्रतिशत बढी नाफा गरेका हुन् ।
गत वर्ष बैंकहरूले ५७ अर्ब ४२ करोड २९ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । अघिल्लो वर्ष ५३ अर्ब ८२ करोड ८२ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।
यस्तै, गत वर्ष बैंकहरूको वितरणयोग्य नाफा १६ अर्ब ४४ करोड ७ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ती बैंकहरुको ७ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको थियो ।
तथ्याङ्कअनुसार गत वर्ष ७ बैंकको औसत खराब कर्जा ३.४९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ३.२ प्रतिशत औसत खराब कर्जा रहेको थियो ।
यी ७ बैंकले गत वर्षसम्म १८ खर्ब ५६ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ खर्ब ८९ अर्ब २९ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षसम्म १५ खर्ब ९५ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी १२ खर्ब ८५ अर्ब २४ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो।
गत वर्ष बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.३८ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ, खुद शुल्क तथा कमिशन आम्दानी १३.८३ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८९ लाख ४३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १७.४७ प्रतिशत बढेर ११ अर्ब १६ करोड ६४ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.६३ प्रतिशत बढेर ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँ गरेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेर ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३० करोड २३ लाख ६९ हजार रुपैयाँ थियो भने लाभांश क्षमता २८.०६ प्रतिशत थियो ।
समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ, सेयर प्रिमियम २३ करोड ८४ लाख ७० हजार रुपैयाँ र जगेडामा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख ४५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब २१ करोड ५३ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सानिमा बैंक
सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेर २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७३ लाख ३७ हजार रुपैयाँ थियो भने लाभांश क्षमता १०.६६ प्रतिशत थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड १६ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ र जगेडामा ६ अर्ब ५६ करोड ७१ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन १३.५६ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ र कर्जा लगानी १०.६८ प्रतिशत बढेर १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ गरेको छ ।
गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ११.७३ प्रतिशत छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो वर्ष ३.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.२६ प्रतिशतमा झरेको छ । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकको सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड ६० लाख ८७ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता १३.०६ प्रतिशत थियो ।
गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ ।
निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ र कर्जा लगानी ४.६७ प्रतिशत बढेर २ खर्ब १३ अर्ब १४ करोड २८ लाख ९ हजार रुपैयाँ गरेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन ११.७६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ८९ अर्ब २३ करोड ६६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
गत वर्ष बैंकको कर्जा लगानी १०.१८ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५३ अर्ब ३४ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७० लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.१२ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २.३२ प्रतिशत घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ गरेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढेर ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ५.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता ४.३२ प्रतिशत थियो ।
गत वर्ष बैंकको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ९.६० प्रतिशत बढेर ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ४.१० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर ८ अर्ब ४३ करोड रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी १५.०८ प्रतिशत बढेर १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ, सञ्चालन आम्दानी ११.८२ प्रतिशत बढेर ११ अर्ब १६ करोड रुपैयाँ गरेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश वितरण क्षमता १३.२२ प्रतिशत रहेको छ ।
गत वर्ष बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १६.१६ प्रतिशत बढेर २ खर्ब ८० अर्ब रुपैयाँ र कर्जा लगानी ९.७६ प्रतिशत बढेर २ खर्ब १४ अर्ब रुपैयाँ गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशत वृद्धि गरी ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत बढेर १५ अर्ब १३ करोड ३० लाख ५२ हजार रुपैयाँ, सञ्चालन नाफा ५२९.८७ प्रतिशत बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेर २ अर्ब ६७ करोड ३८ लाख १९ हजार रुपैयाँ गरेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड ७४ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी २.७८ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ । अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ६.४२ प्रतिशत पुगेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १५.४० प्रतिशत ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ, सञ्चालन नाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख ३८ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ गरेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ९.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक थियो ।
गत वर्ष बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सेयर प्रिमियम ३ करोड ८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोष ६ अर्ब ३१ करोड १० हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको निक्षेप संकलन १६.०९ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ११.७४ प्रतिशत १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.८३ प्रतिशतमा झरेको छ।