शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक, डा. उज्ज्वल पाटनीको उपस्थितिमा सेमिनार

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको उपस्थितिमा 'बिजनेस ब्लुप्रिन्ट नेपाल' आयोजना हुँदैछ । उक्त कार्यक्रममा नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट मुख्य प्रायोजकका रूपमा आवद्ध भएको छ ।

यो सेमिनार २०८२ साल भदौ १२ गते (२०२५ अगस्ट २८), बिहीबार, काठमाडौंको होटल मेरियट, नक्सालमा बिहान १०:३० बजेदेखि अपराह्न ५:०० बजे सम्म हुनेछ । शिवम् सिमेन्टले आफ्नो नवीन, इनोभेटिभ कार्यक्रमहरू, सन्देशमूलक अभियान र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचान कायम गर्दै आएको छ । यसैक्रममा, यस मेगा बिजनेस सेमिनारमार्फत विश्वस्तरका मोटिभेसनल स्पिकरसँग सहकार्य गरी सहभागीहरूलाई व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको कम्पनीका प्रतिनिधिले बताएका छन् ।

डा. उज्ज्वल पाटनीसँग ३ वटा गिनिज वर्ल्ड रेकर्ड, १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र प्रतिष्ठित सम्मानहरू छन् । उनको डिजिटल शो 'दि उज्ज्वल पाटनी शो' हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशमा हेर्दै आएका छन् । उनले सञ्चालन गरेका प्रशिक्षण कार्यक्रममार्फत १० हजारभन्दा बढी व्यवसायीहरूले जीवन र व्यवसायमा रूपान्तरण पाएका छन् । साथै, उनका ७ पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् र विश्वभर २८ देशमा १० लाखभन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन् ।

Share News