काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव निराजन महर्जनले जानकारी दिए ।
उनका अनुसार बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजीको कम्पनीले १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयरबाट संकलित रकम अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उनको भनाइ छ ।