काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको बताएका छन् ।
सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा आयोजित २२औँ सिर्जनशील उद्यमी मेलाको शुभारम्भ गर्दै मन्त्रालयले स्टार्टअप र रचनात्मक उद्यमशील परियोजना अन्तर्गत २५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रम समावेश गरेको उनले उल्लेख गरे ।
रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषय सरकारको प्राथमिकतामा राखेको बताउँदै मन्त्री भण्डारीले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिइने जानकारी दिए ।
मन्त्री भण्डारीले स्वदेशी ज्ञान, सीप, श्रम र अनुभवले सृजना गरेका वस्तुले आन्तरिक बजारको केही प्रतिशत माग पूरा गर्दा पनि त्यसले आयात प्रतिस्थापनमा ठूलो योगदान गर्ने बताए ।
देशको साना, लघु र घरेलु उद्योगले रोजगारी सृजना गर्ने बताउँदै मन्त्री भण्डारीले त्यस्तो स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्न सकेमा त्यसले पुँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने र आर्थिक तथा सामाजिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
हस्तकला तथा घरेलु उद्योगबाट हुने उत्पादनले रोजगारी सृजना गर्नका साथै ग्रामीण अर्थव्यवस्थालाई गतिशील बनाउने बताउँदै उनले महिलालाई उद्यमशीलता तर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।
केन्द्रका अध्यक्ष मिलु थापाले ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाएर समग्र मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न सकिने बताउँदै महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बालुवाटारमा आयोजित सो मेला आइतबारसम्म चल्ने छ । इभेन्ट संसारको समन्वयमा सुरु भएको मेलामा घरेलु तथा हस्तकला सामग्री, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शनका साथै बिक्रीसमेत गरिएको हो ।