काठमाडौं । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका-२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका आधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गा मुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजगढ गाउँपालिका-२ स्थित नेपाल-भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ ।
यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका-१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता-१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी-७ का मनोज रायलाई पक्राउ गरेको थियो ।