काठमाडौं । सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो ।
कम्पनीको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।