तेह्रथुम पावरको ४ लाख १८ हजार कित्ता सेयर बिक्री खुला, मूल्य १ सय रुपैयाँ

काठमाडौं । तेह्रथुम पावर कम्पनीले अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म हकप्रद सेयर बिक्री गर्दा सर्वसाधारण लगानीकर्ताले खरिद नगरेको अवितरित सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता सेयर बिक्री खुला गरेको हो । 

कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ ३ गतेभित्र आवेदन दिन सकिनेछ । 

कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

Share News