करोडौंको ‘महत्त्वाकांक्षी’ ट्राफिक गुरुयोजना कागजमै सीमित हुने आशंका

काठमाडौं । सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले साढे तीन वर्ष लगाएर तयार पारेको काठमाडौं उपत्यकाको अस्तव्यस्त ट्राफिक सुधार्ने महत्त्वाकांक्षी गुरुयोजना सार्वजनिक भएको छ ।  गुरुयोजनामा तीनवटा महत्त्वपूर्ण प्राविधिक दस्तावेजहरू सार्वजनिक गरिएका छन् । 

परियोजनाका वक्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले काठमाडौंमा बढ्दो जनसंख्या, मोटरसाइकल लगायतका सवारी साधनको चाप, अव्यवस्थित चोकहरू र ट्राफिक नियमनको एकीकृत प्रणालीको अभावले गर्दा ट्राफिक व्यवस्थापन जटिल बनेको जानकारी दिए ।

यही समस्या समाधान गर्न विस्तृत अनुसन्धान, योजना र पाइलट प्रोजेक्टपछि यी महत्त्वपूर्ण दस्तावेजहरू तयार पारिएको उनी बताउँछन् । सार्वजनिक गरिएका मुख्य तीन दस्तावेजहरूमा सहरी यातायात व्यवस्थापन गुरुयोजना, चोक सुधार निर्देशिका र ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल रहेका छन् ।

सहरी यातायात व्यवस्थापन गुरुयोजना

यसले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि एक रणनीतिक दृष्टिकोण प्रस्तुत गर्दछ । यसको लक्ष्य औसत ट्राफिक गति ३० प्रतिशतले बढाउने र जामका कारण हुने समयको क्षति १० प्रतिशतले घटाउने रहेको छ । साथै ट्राफिक दुर्घटनाबाट हुने मृत्युदरमा वार्षिक ५ प्रतिशत कमी ल्याउने लक्ष्य राखिएको छ ।

चोक सुधार निर्देशिका 

यसमा उपत्यकाका चोकहरूलाई सुरक्षित र प्रभावकारी बनाउने प्राविधिक विधिहरू समेटिएका छन् । पाइलट प्रोजेक्टको अनुभवका आधारमा तयार पारिएको यो निर्देशिकाले लेनको चौडाइ, मोडिने ठाउँ र पैदलयात्रीका लागि सुरक्षित क्रसिङ जस्ता विषयमा मार्गदर्शन गर्दछ ।

ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल 

यसले ट्राफिक बत्तीहरूको सञ्चालन र मर्मतलाई मानकीकृत गरी एकरूपता ल्याउने लक्ष्य राखेको छ । जसले गर्दा ट्राफिक बत्तीहरूले निरन्तर र प्रभावकारी रूपमा काम गर्न सकून् । 

यो परियोजनाअन्तर्गत नयाँ बानेश्वर र लैनचौर चोकमा पाइलट प्रोजेक्टका रूपमा भौतिक सुधारका कामहरू गरिएको बताइएको थियो । नयाँ बानेश्वरमा छुट्टै दायाँ मोड्ने लेन मेडियन निर्माण र ट्राफिक लाइटको प्रभावकारी व्यवस्थापन गरिएको थियो । 

जसले गर्दा जाममा उल्लेख्य कमी आएको दाबी गरिएको थियो । त्यस्तै, लैनचौरमा पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक आइल्याण्ड र बायाँ मोड्नका लागि समेत ट्राफिक बत्तीको व्यवस्था गरिएको थियो, यद्यपि सवारी चालकहरूले नयाँ नियम पालना गर्न केही समय लागेको पनि उल्लेख गरिएको थियो । 

जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउँदा जापान खुसी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे ।

उनले यी निर्देशिका र गुरुयोजनालाई सम्पूर्ण सरोकारवालाहरूले सक्रिय रूपमा प्रयोग गरी काठमाडौंको यातायातलाई सहज र सुरक्षित बनाउन आग्रह गरे । 

परियोजनाले तयार पारेका यी दस्तावेजहरू कार्यान्वयनका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

उक्त गुरुयोजनासँगै ‘चोक सुधार निर्देशिका’ र ‘ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल’ पनि सार्वजनिक गरिएको छ । जसले कार्यान्वयनका लागि स्पष्ट खाका दिने अपेक्षा गरिएको छ ।

सहसचिव  ढकालका अनुसार जाइकाले ३ वर्ष लगाएर उपत्यकाका कुल १०७ चोकको अध्ययन गरी प्राथमिकताका आधारमा नयाँ बानेश्वर र लैनचौरलाई नमुनाका रूपमा छनोट गरेको थियो । उनले जाइकाले हस्तान्तरण गरेको दस्तावेजअनुसार काम गर्न सके उपत्यकाको ट्राफिक व्यवस्थापनमा कम्तीमा ३० प्रतिशत सुधार हुने विश्वास व्यक्त गरे ।

योजना कागजमा, सडकमा उस्तै सास्ती

जुन निकायहरू यो गुरुयोजना कार्यान्वयन गर्ने जिम्मेवारीमा छन् । तिनै निकायहरू सडकमा देखिएका सामान्य समस्या समाधान गर्न समेत असफल देखिन्छन् । 

केही समयदेखि कोटेश्वर-तीनकुने सडकखण्डमा जडान गरिएको अत्यधिक चम्किलो बत्ती भएको एएनपीआर क्यामेराले रातमा चालकको आँखा तिर्मिराउँदा दुर्घटनाको जोखिम बढाएको छ । 

तर सडक विभागका अधिकारीहरू यो क्यामेरा आफूहरूले जडान नगरेको भन्दै पन्छिरहेका छन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यो क्यामेरा ‘फेस डिटेक्सन’ प्रविधियुक्त भए पनि कुन निकायले र कुन प्रयोजनका लागि राख्यो भन्नेबारे सरकारी निकायहरू नै अनभिज्ञ छन् । 

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन जडान गरिएका अधिकांश ट्राफिक लाइटहरू बन्द अवस्थामा छन् । जसले गर्दा सडकमा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको छ । 

उपत्यकाका कुल ६९ स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये २७ वटा पूर्ण रूपमा बन्द छन् भने ४२ वटा मात्र सञ्चालनमा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले लगभग ४० प्रतिशत लाइटहरू बिग्रेर थन्किएको बताए । उपत्यकाको महालक्ष्मीस्थान, मित्रपार्क, पद्मोदय, कोटेश्वरजस्ता दर्जनौं स्थानका लाइटहरू महिनौंदेखि बन्द छन् । 

यसैगरी, त्रिपुरेश्वर, माइतीघर र थापाथलीजस्ता अति व्यस्त चोकमा त झन् ट्राफिक लाइटले कामै गर्न नसक्ने भन्दै आइरहेका छन् । 

‘यो विभिन्न कारणले बिग्रेको हो,’ उनले भने, ‘कहिले विद्यार्थी आन्दोलनमा तोडफोड हुन्छ, कहिले चट्याङजस्ता प्राकृतिक कारणले बिग्रिन्छ । तर मुख्य समस्या समयमा मर्मत नहुनु हो । ’

ट्राफिक लाइट बनाउने र मर्मत गर्ने जिम्मेवारी कुन निकायको हो भन्नेमा समेत अन्योल देखिएको छ । प्रवक्ता गिरीका अनुसार यी लाइटहरू सडक विभाग र सम्बन्धित महानगरपालिकाले जडान गरेका हुन् र मर्मतको जिम्मा पनि उनीहरूकै हो । तर, निकायहरूबीच समन्वयको अभाव र ढिलासुस्तीका कारण बिग्रेका लाइटहरू महिनौंसम्म बन्द रहने गरेका छन् । 

‘हामीले लाइट नचलेको जानकारी सम्बन्धित निकायलाई गराउँछौं, तर मर्मत प्रक्रिया निकै सुस्त छ,’ उनले भने । 

कार्यान्वयनमा आशंका 

जाइकाको सहयोगमा केही मुख्य चोकहरूमा अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने प्रयास पनि पूर्ण रूपमा सफल हुन सकेको छैन । बानेश्वर चोकको लाइट सफलतापूर्वक सञ्चालनमा आए पनि लैनचौरमा जडान गरिएको लाइटले भने झन् ट्राफिक जाम बढाएपछि त्यसलाई सञ्चालनमा ल्याउन सकिएको छैन । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लैनचौरको बाटो साँघुरो भएकाले लाइटको प्रणालीले सबैतिरका गाडीलाई पालो मिलाउन सकेन ।  

‘जाइकाले बाटो फराकिलो बनाउन सडक विभागलाई सुझाव दिएको छ,’ प्रवक्ता गिरीले भने, ‘सडक विभागले बाटो विस्तार नगरेसम्म त्यो लाइट सञ्चालनमा आउने अवस्था छैन । ’ 

उपत्यकामा १६० भन्दा बढी मुख्य चोकहरू भए पनि हालसम्म ६९ ठाउँमा मात्र लाइट जडान गरिएको छ । त्यसमा पनि २७ वटा बन्द हुँदा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ भने आमयात्रुले दैनिक सास्ती भोग्नुपरेको छ ।

बिग्रेका लाइटहरू कहिलेसम्म मर्मत हुन्छन् र उपत्यकाको ट्राफिक व्यवस्थापन कहिले सहज बन्छ भन्ने प्रश्नमा सरकारी निकायहरूसँग कुनै ठोस जवाफ छैन । योजना बन्ने तर कार्यान्वयन फितलो हुँदा करोडौंको लगानी बालुवामा पानीसरह भएको छ भने नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अन्तरनिकाय समन्वय र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिन्छन् । उनले यातायात व्यवस्थापन कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताए पनि व्यवहारमा भने त्यसको ठीक उल्टो अवस्था छ । 

Share News