काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरिएको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रस्तावमा सेयर सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरण गर्दा संस्थापक र सर्वसाधारण सेयरलाई फरक-फरक इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर ( आईएसआईएन) दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा यस्तो प्रस्तावले नेपालको पूँजी बजारमा दीर्घकालीन असर पार्ने सम्भावना रहेको उल्लेख छ । यसले विदेशमा रहेका नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलाउने, सेयर कारोबारमा अन्योल सिर्जना गर्ने र पूँजी बजारको पारदर्शिता तथा स्थायित्वमा प्रतिकूल प्रभाव पार्न सक्छ ।
गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने प्रयास गर्दै आएको छ । हाल ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप र वित्तीय क्षेत्रमा गैरआवासीय नेपालीहरूले उल्लेखनीय लगानी गरिरहेका छन् । संघका अनुसार यस्ता लगानीहरू नेपालमा आर्थिक सुधार र पूर्वाधार विकासका लागि महत्त्वपूर्ण स्रोत हुन् ।
तर, प्रस्तावित निर्देशनले लगानीमैत्री वातावरणलाई कमजोर बनाउने खतरा रहेको विज्ञप्तिमा जारी छ । संघका अनुसार विशेषगरी गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता, र कानुनी स्पष्टता अपेक्षा गर्ने हुँदा यस्तो प्रस्तावले उनीहरूलाई हतोत्साहित गर्न सक्छ ।
प्रस्ताव कार्यान्वयन भएमा संस्थापक सेयरधनीहरूलाई सेयर बेच्न गाह्रो हुने, वैदेशिक लगानी फिर्ता गर्न समस्या आउने, र कानुनी अन्योलको स्थिति सिर्जना भई अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जान सक्ने संघले चेतावनी दिएको छ ।
यसै सन्दर्भमा, संघले नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई उक्त प्रस्ताव पुनर्विचार गर्न, समग्र असरको मूल्याङ्कन गरी गम्भीर छलफलबाट सन्तुलित निर्णय लिन आग्रह गरेको छ । साथै, निजी क्षेत्र, प्रवासी नेपाली र विदेशी लगानीकर्ताको विश्वास कायम राख्नका लागि स्पष्ट, स्थिर र लगानीमैत्री नीतिहरू अवलम्बन गर्न संघले जोड दिएको छ ।