युनाइटेड इदी मर्दी हाइड्रोले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नै तयारी गरेको छ । कम्पनीले उक्त सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२०७९ साल चैत ११ गते सम्पन्न कम्पनीको १५औँ वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाइएको हो । सोहीअनुसार गत साउन १४ गते बुधबार, दुबै कम्पनीबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा युनाइटेड इदी मर्दी हाइड्रोपावरका प्रबन्ध निर्देशक रोशन केसी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका हुन्।

हालसम्म तीन वर्षदेखि लगातार नगद लाभांश र बोनस सेयर वितरण गर्दै आएको कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको जारी तथा चुक्ता पूँजी ९२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीद्वारा प्रवर्द्धित ७ मेगावाट क्षमताको मर्दी खोला जलविद्युत आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ र ९ मा अवस्थित छ । आयोजनाले २०७६ साल असोजदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।

Share News