काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार ३१ गतेदेखि बिक्री खुला गरेको सतप्रतिशत हकप्रद सेयरमा लगानीकर्ताहरुले अब भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।