काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढाएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.१५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २९.४८ प्रतिशत र सञ्चालन मुनाफा २५०.५३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपेयाँ ८० पैसा बढेर ४४ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ २७७ रुपयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ । प्रति सेयर कूल सम्पत्तिको मुल्य २७६ रुपैंया ८४ पैसा रहेको छ ।
२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ । पछिल्लो १ वर्षमा लघुवित्तको निक्षेप तथा सापटी १०.४९ प्रतिशत र कर्जा ४.९६ प्रतिशत बढेको छ । यसले गर्दा लघुवित्तको वित्तिय सचांकहरु समग्र अवस्था सन्तोष जनक रहेको छ ।