काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा आगामी भदौ १८ गते बुधबार बिहान ९ बजे थापाथलीस्थित कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिने कम्पनीले जानकारी दिएको छ ।
क्यापिटलका अनुसार छोटो समयमा नै ग्राहकहरूमाझ लोकप्रियता हासिल गरिरहेको कम्पनीले हालसम्म सातवटा साधारण सभामार्फत २४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । नवौं वार्षिक साधारण सभामा प्रस्तावित ५० प्रतिशत लाभांश पारित भएसँगै कुल २९० प्रतिशत नगद लाभांश वितरण गर्ने उपलब्धिमा कम्पनी पुग्नेछ ।
एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउन तथा सेयरधनीलाई दीर्घकालीन प्रतिफल प्रदान गर्ने लक्ष्यसहित सेवा विस्तार र वित्तीय पारदर्शितामा जोड दिँदै आएको जनाएको छ ।