काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले बहुमत मत प्राप्त गर्दै संसदीय दलको नेतृत्व सम्हालेका हुन् ।
कुल ३७ मत खसेको उक्त निर्वाचनमा बानियाँले २२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत ल्याएका थिए । एक मत बदर भएको थियो । बहुमत अर्थात् २२ मतसहित बानियाँ संसदीय दलको नेता निर्वाचित भएका हुन् ।
यसअघि बानियाँकै अगुवाइमा तत्कालीन संसदीय दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। सो प्रस्ताव पनि दलका २२ सांसदको समर्थनमा पारित भएको थियो ।
रिक्त रहेको नेताको पद पूर्ति गर्न बुधबार पुनः निर्वाचन गरिएको हो । यही कार्यकालमा बानियाँ र लामा दोस्रो पटक आमनेसामने भिडेका हुन् । २०७९ सालमा लामाले बानियाँलाई पराजित गर्दै नेतामा निर्वाचित भएका थिए ।
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका प्रदेश सभापति समेत हुन् । अब उनले पार्टीको संगठनात्मक नेतृत्वसँगै संसदीय दलको पनि बागडोर सम्हाल्ने भएका छन् ।