बढी लाभांश दिने टप टेन कम्पनी, यसरी पाए सफलता

कामठाडौं । ‘पुँजी बजार भएकाले यहाँ पूँजीवाद मात्र लागू भएको हो कि जस्तो लाग्छ । तर, गहिरिएर विश्लेषण गर्ने हो भने यसभित्र समाजवाद छ । प्राइभेट कम्पनीमा सीमित लगानीकर्ता हुन्छन् र नाफा पनि उनीहरूले मात्र लिन्छन् । तर, सूचीकृत कम्पनीमा हजारौं, लाखौं लगानीकर्ता हुन्छन् । सूचीकृत कम्पनीले गरेको नाफा धेरै मानिसमा बाँडफाँट भएको हुन्छ । खास यसको उद्देश्य एक जनाले मात्रै नाफा नलेऊ भन्न खोजेको हो । जस्तो एनसेल- कम्पनी छ थोरैको, नाफा दिन्छ ४/५ सय प्रतिशत । एउटै कम्पनीले १६/१७ अर्ब कमाउँछ ।

'समाजवादी मोडलमा दुई तरिकाबाट लागू हुन्छ । पहिलो, नाफामा कर उठाएर जनतामा लगानी गर्ने हो । दोस्रो, कम्पनीको सेयर जनतालाई पनि दिनु पर्छ भन्ने हो,’ स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले विकास वहसमा भने । 

उनका अनुसार राम्रा कम्पनीको सेयरमा लगानी गर्नेहरू सधैं डुब्दैनन् । जस्तो फस्ट माइक्रो फाइनान्सको सेयर १४ सय रुपैयाँमा किन्नेलाई आज पनि घाटा छैन । किनभने त्यो संस्थाले हरेक वर्ष ९/१० प्रतिशत बोनस दिइरहेको हुन्छ । यूनिलिभर जस्तो १५/१६ सय प्रतिशत लाभांश दिने कम्पनीमा लगानी गर्दा घाटा हुँदैन । 

तर, सेयधरनीहरुले आज किनेर भोलि बेच्नु मात्रै हो पुँजी बजार बुझेको उनको भनाइ छ । पब्लिकलाई सेयर दिनु भनेको नाफा हुन्छ र प्रतिफल दिन्छ भन्न खोजिएको उनले बताए । आज १ सय रुपैयाँको सेयर पुँजी बजारमा ३ सय रुपैयाँ पुग्छ र बेचेर नाफा खाऊ भन्न नखोजेको उनले सुनाए । कम्पनीले दिने प्रतिफल पनि लेऊ भन्ने खोजेको उनी सुनाउँछन् । 

नेप्सेका अनुसार सेयर बजारमा म्युचुअल फण्ड बाहेक २७२ कम्पनी सूचीकृत छन् । तर, गत वर्ष सबै कम्पनीले लाभांश दिएनन् । आर्थिक वर्ष २०८०/८१ को नाफाबाट गत वर्ष साधारण सभा बोलाएर सेयरधनीहरूलाई लाभांश वितरण गर्नु पर्थ्याे । तर, थोरै कम्पनीले मात्रै गत वर्ष अघिल्लो वर्षको नाफा बाँडे ।

सूचीकृत कम्पनीको सेयर कारोबार मात्रै नभई लाभांश प्राप्तका लागि पनि लगानीकर्ता लगानी गरिरहेका हुन्छन् । त्यसैले अघिल्लो वर्षको नाफाबाट गत वर्ष सबैभन्दा धेरै लाभांश वितरण गर्ने १० कम्पनी (टप टेन) कम्पनीका विषयमा यहाँ उल्लेख गर्न खोजिएको छ । जुन कम्पनीले धेरै लाभांश वितरण गर्छ सो कम्पनीमा लगानीकर्ताहरुको आकर्षण हुनु स्वभाविक हो । 

नेप्सेमा सूचीकृत कम्पनीमध्ये आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सबैभन्दा धेरै लाभांश दिने १० कम्पनीको सूचीमा यूनिलिभर नेपाल, बोटलर्स नेपाल, सोल्टी होटल, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल ल्युव आयल, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स पर्न सफल भएका छन् । 

यूनिलिभर नेपाल

नेप्सेमा सूचीकृत २७२ कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीको अग्रस्थानमा छ, यूनिलिभर नेपाल । उत्पादन तथा प्रशोधन समूहमा रहेको यूनिलिभरले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १ हजार ७१४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले आफ्नो इतिहासकै सर्वाधिक लाभांश सेयरधनीहरूलाई वितरण गरेको हो ।

हरेक घरमा, हरेक मनमा कम्पनीको ब्राण्ड र उत्पादन पुर्याउने रणनीतिका व्यवसाय गरिरहेको यस कम्पनीले आर्थिक शिथिलतामा पनि सेयरधनीहरूलाई धेरै लाभांश खुवाउन सफल भएको हो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले नगद लाभांशमा जोड दिँदै आएको छ । थोरै पुँजी र उच्च नगद लाभांश वितरण गर्ने यस कम्पनीको सेयर मूल्य सेयर बजारमा सबैभन्दा धेरै छ ।

बोटलर्स नेपाल (तराई)

नेप्सेमा सूचीकृत कम्पनीहरूमा सबैभन्दा धेरै लाभांश दिने कम्पनीको सूचीमा दोस्रो नम्बरमा छ, बोटलर्स नेपाल (तराई) । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । यस कम्पनीले पनि सेयरधनीहरुलाई नाफाबाट नगद प्रतिफल वितरण गर्दै आएको छ । 

विश्व प्रसिद्ध ब्राण्ड कोकाकोला सन् १९७३ मा बोटलर्स नेपाल लिमिटेडको रुपमा भित्रिएको थियो । कम्पनीको काठमाडौंमा पहिलो र सन् १९८७ मा चितवनको भरतपुरमा दोस्रो उद्योग बोटर्लस नेपाल तराईको स्थापना गरेको थियो । बोटलर्स नेपाल (तराई) लिमिटेड बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी हो । भरतपुर चितवनमा कार्यालय रहेको बोटलर्स नेपाल (तराई) झण्डै ५ दशकदेखि नेपालमा सञ्चालनमा रहेको पब्लिक कम्पनी हो ।

बोटलर्स नेपाल (तराई) ले कोकाकोला, स्प्राईट, फ्यान्टा, कोक जीरो तथा किन्ले ब्राण्डमा कार्वोनेट मिश्रित गैर मदिराजन्य हलुका पेय पदार्थ तथा शीलबन्द पिउने पानीको उत्पादन, निर्माण, विक्री, वितरण तथा आपुर्ति गर्ने गर्दछ । कम्पनीको सेयर मूल्य उच्च भएकाले लगानीकर्ताले लागि हट केकका रुपमा लिन्छन् । बोटलर्स नेपाल (तराई) मा प्रमोटर सेयर ७५ प्रतिशत अर्थात् ९ लाख ७ हजार ५ सय कित्ता र पब्लिक सेयर २५ प्रतिशत अर्थात् ३ लाख २ हजार ५ सय कित्ता सेयर गरी कूल १२ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् ।

सोल्टी होटल

होटल तथा पर्यटन समूहमा रहेको सोल्टी होटलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले वितरण गरेको लाभांश सूचीकृत कम्पनीहरूमा तेस्रो स्थानमा छ ।

२०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको सोल्टी होटलको चुक्ता पुँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको छ । नेपालमा होटल क्षेत्रलाई व्यवसायको रुपमा सुरु गर्ने श्रेय यस कम्पनीलाई जान्छ । कम्पनीको कम्पनीमा संस्थापक समूहको ८५ प्रतिशत सेयर र सर्वसाधारण लगानीकर्ताको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । पाँच तारे यस होटलले आफ्नो सञ्जाल देशभर विस्तार गरिरहेको छ । 

एनटीसी 

सरकारको बहुमत सेयर स्वामित्व रहेको नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गरेको छ । जुन नेप्सेमा सूचीकृत कम्पनीहरुको सूचीमा पाँचौं स्थानमा पर्छ । १७ अर्ब ९९ करोड ९९ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ९१.५३ प्रतिशत संस्थापक र ८.४७ प्रतिशत सर्वसाधारण सेयरधनीहरुको स्वामित्व रहेको छ । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

निर्जीवन बीमा समूहमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भइ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायमा उल्लेख व्यवसाय गर्दै आएको छ । बीमा व्यवसायमा हरेक सूचकमा अग्रणी स्थानमा रहेको यस कम्पनीले हरेक सूचकमा आफूलाई अब्बल बनाइरहेको छ । २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ३० प्रतिशत सर्वसाधारण सेयरधनी समूहको रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश वितरण गरेको छ । विसं २०७४ कात्तिकबाट व्यावसायिक कारोबार सुरु गरेको सिटिजनले छोटो समयमै दशकौं पूराना कम्पनीहरूलाई टक्कर दिइरहेको छ ।

‘समृद्धि तपाईंको, साथ हाम्रो’ मूल नारा रहेको कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीका अनुसार १८ अर्ब २ करोड १९ लाख रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गरेको छ । साढे २२ अर्ब रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब बराबरको जगेडा कोष रहेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गरेको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा चार दशको योगदान रहेको स्ट्याण्डर्ड चार्टर्ड वि.सं २०६४ सूचीकृत भएको थियो । बैंकमा संस्थापक समूहको ७०.२१ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको स्ट्याण्डर्ड चार्टर्ड पुँजी बजारको ‘हटकेक’ सेयर हो । बैंकबाट लगानीकर्ताले पाउने लाभांश, बैंकको बिजनेस, कुल नाफामा वितरणयोग्य नाफा, कुल कर्जामा खराब कर्जाको अुनपात र राष्ट्र बैंकको हरेक कम्प्लायन्स पालनामा अब्बल रहेको छ । 

नेपाल ल्युव आयल

नेपाल ल्युव आयलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । लुब्रिकेन्टस् व्यवसाय गर्ने यस कम्पनीको अध्यक्ष अरुण चौधरी रहेका छन् भने करण कुमार चौधरी कार्यकारी निर्देशक रहेका छन् । ७ करोड २९ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ७९.७६ प्रतिशत संस्थापक र २०.२४ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको छ । 

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ७० प्रतिशत अर्थात् ३.५ अर्ब रुपैयाँ संस्थापक सेयर स्वामित्व छ भने ३० प्रतिशत अर्थात् रु. १.५ अर्ब रुपैयाँ सर्वसाधारण सयरधनीहरुको स्वामित्व छ । कम्पनीको अध्यक्ष डा. रामहरि अर्याल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्का छन् ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा २ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ । कम्पनीले १ खर्ब ५९ अर्ब रुपैयाँ दीर्घकालीन लगानी र २८ अर्ब ७४ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ । बीमा कम्पनीहरूमा सबैभन्दा उच्च व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ अग्रणी स्थानमा रहन्छ । 

Share News