काठमाडौं । सारथी लॉजिस्टिक्स विराटनगरमा नयाँ शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको महत्वपूर्ण चरण सुरु गरेको छ । उद्घाटन समारोहमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी प्रमुख शहरमा बुकिङ सेवा प्रारम्भ भएको औपचारिक घोषणा गर्यो ।
कम्पनीले सेवा विस्तार गरेका गन्तव्यहरूमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा र त्रिशूलीजस्ता मुख्य सहरहरू रहेका छन् ।
कार्यक्रममा सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले भने, 'हामी आज विराटनगरजस्तो व्यापारिक केन्द्रमा सेवा विस्तार गर्न पाउँदा गर्वित छौं । हाम्रो लक्ष्य देशभरका सहर तथा गाउँलाई प्रभावकारी रूपमा जोड्ने, किफायती र प्रविधिमैत्री सेवा प्रवाह गर्ने र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिने हो ।'
उनले छिट्टै देशका अन्य मुख्य सहरहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको जनाए । उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, साझेदार, विशिष्ट व्यक्ति र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सारथी लॉजिस्टिक्सले पारदर्शिता, भरपर्दो सेवा र राष्ट्रिय गौरवको भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।