काठमाडौं । नेप्से बुल र द गभर्नर मदिराको कारोबार गर्ने सागर डिस्टिलरीले एक वर्षमा १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा (सन् २०२५) सागर डिस्टिलरीले १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको हो ।
यसअघि कम्पनीले १७ करोड ७० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १.६९ प्रतिशत अर्थात् ३० लाख रुपैयाँ बढीको मदिरा कारोबार गरेको हो ।
कम्पनी सन् २०२२ बाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । कम्पनीले सन् २०२२ मा ६ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ९ करोड ४० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो ।
सन् २०१४ स्थापित सागर डिस्टिलरी सन् २०२३ पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो । नवलपुरको देवचुलीमा फ्याक्ट्री रहेको यस कम्पनीले भोड्का, ह्विस्की, जिन, जस्ता उच्च ग्रेड स्प्रिटहरू उत्पादन गर्दै आएको छ । सागर डिस्टिलरीको वार्षिक ५० लाख लिटर मदिरा उत्पादन क्षमता रहेको छ ।
ललीपप गोल्ड/एप्पल/लेमन/ओरेन्ज (७० यूपी), रोयल ब्लू (४० यूपी), ग्रे वुल्फ (४० यूपी), बेरीज एण्ड ब्लूज (४० यूपी), नेप्से बुल्स (३० यूपी) र द गभर्नर (२५ यूपी) उत्पादन गर्दै आएको सागर डिस्टिलरीले जनाएको छ ।
कम्पनीमा आशुतोष खेतान, अल्का गोयल र सन्दीप जलानको मुख्य लगानी रहेको छ । खेतानको १४.५२ प्रतिशत, गोयलको १०.६३ प्रतिशत र जलान ९.१४ प्रतिशत सेयर स्वामितव रहेको छ ।
कम्पनीमा ४ सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षता अल्का गोयलले गरिरहेकी छिन् । उनीसँग एक दशकभन्दा बढीको अनुभव छ । साथै, जालान र खेतानसँग ब्रोकरेज, सूचना प्रविधि, मिडिया, घरजग्गा र निर्माण लगायतको अनुभव छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौरभ करणजीत छन् । उनीसँग यो क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । छोटो समयमा उल्लेख्य व्यवसाय विस्तार गरिरहेको यस कम्पनीले आगामी दिनमा बजारमा स्थापित कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने मुख्य चुनौती रहेको छ ।
सागर डिस्टिलरीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजीको १५ प्रतिशत आईपीओ बिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ भने १४ करोड ५२ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा समेत आवेदन दिएको छ ।