काठमाडौं । शंकर ग्रुप र अम्बे ग्रुपको मुख्य लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले ९ महिनामा ४ अर्ब रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको छ । रिद्धिसिद्धि सिमेन्टले गत आर्थिक वर्ष २०८१÷८२ को ९ महिना (सन् २०२५) मा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको हो ।
मकवानपुरको हेटौंडामा सन् २०१३ मा स्थापित रिद्धिसिद्धि सिमेन्टले सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको थियो ।
यस्तै, सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँ र सन् २०२० मा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको सिमेन्टको कारोबार गरेको थियो ।
क्लिंकर र सिमेन्ट उत्पादन बिक्री वितरण गरिरहेको यस कम्पनीले वार्षिक ०.७३ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको रहेको छ भने, ०.८४ मिलियन मेट्रिक टन क्लिंकर उत्पादन क्षमता छ । क्लिंकरको करिब ८४ प्रतिशत सिमेन्ट उत्पादन गर्छ ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ दीर्घकालीन ऋण र ३ अर्ब ६६ करोड १५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।
दीर्घकालीन ऋणका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्सले त्रीपल बी माइनस रेटिङ र अल्पकालीन ऋणका लागि एथ्री रेटिङ प्रदान गरेको छ । त्रिपल बी माइनस रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यम स्तर र एथ्री रेटिङले वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्छ ।