नेप्से परिसूचक १८ अंकले घट्दा साढे २६ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाँघेको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर दुई हजार ९६४.२० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा रु २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो ।

विकास बैंक समूह १.२३, उत्पादन तथा प्रशोधन १.०८, म्युचुअल फण्ड ०.३९ र व्यापार समूह १.४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ ०.७१, वित्त १.९९, होटल तथा पर्यटन १.७९, जलविद्युत् १.०९, लगानी १.६६, जीवन बिमा  १.३५, निर्जीवन बिमा ०.६७ र अन्य समूह ०.८६ प्रतिशतले घटेको छ ।  
 
आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको रु एक अर्ब दुई करोड तीन लाख ३५ हजार ९२३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक प्रमोटरको सेयर २१ लाख २० हजार ९१२ कित्ता किनबेच भएको छ ।
 

Share News