तेह्रथुम पावरको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय आज साउन ११ गते अन्तिम दिन रहेको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । 

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा, कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् । 

Share News