काठमाडौं । मोरङ उद्योग व्यापार संघले शुक्रबार आयोजित कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत गर्दै औपचारिक भेटघाट गरेको छ ।
कार्यक्रममा मोरङ संघका अध्यक्ष अनुपम राठीले दुई जिल्लाबीचको औद्योगिक सहकार्य बलियो बनाउँदै मोरङ–सुनसरी औद्योगिक कोरिडोरको हकहित र संरक्षणमा संयुक्त पहलको आवश्यकता औंल्याए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले औद्योगिक विकासको गति सुस्त रहेको र युवाहरुको वैदेशिक पलायन रोक्न संघहरूको संयुक्त प्रयास अपरिहार्य रहेको बताए ।
कार्यक्रममा दुवै संघका पदाधिकारीहरूले आपसी सहकार्य, उद्योगप्रति राज्यको ध्यानाकर्षण, भारतीय कामदार दर्ता र एमआरपी व्यवस्थापनका विषयमा साझा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुनसरी संघका अध्यक्ष गोपाल श्रेष्ठले मोरङ संघलाई ‘औद्योगिक अभिभावक’ को रूपमा सम्मान गर्दै भविष्यमा पनि समस्याको समाधानमा ऐक्यवद्धताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।