‘पल्सर स्पोर्ट्स अवार्ड’ पहिलोपटक पोखरामा हुँदै, गोल्छा ग्रुपसँग थप ५ वर्षको सम्झौता

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्ड, ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ यसपटक पहिलोपटक काठमाडौं उपत्यका बाहिर आयोजना हुने भएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै अवार्डको २२ औं संस्करण पर्यटकीय नगरी पोखरामा आगामी भदौ २९ गते गर्ने घोषणा गरेको हो । 

‘पोखरा भ्रमण वर्ष २०२५’ लाई समेत सघाउने उद्देश्यले अवार्डलाई पोखरामा आयोजना गर्ने निर्णय लिइएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए । 

उनले भने, ‘नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको छ । त्यसैअनुरूप हामीले पनि स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्य राखेका छौं। काठमाडौं बाहिर अवार्ड आयोजना गर्नु चुनौतीपूर्ण भए पनि हामीले यसलाई अवसरका रूपमा लिएका छौं ।’

null

गोल्छा ग्रुपसँग थप ५ वर्षको सम्झौता

कार्यक्रममा मञ्चले अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी (गोल्छा ग्रुप) सँग थप ५ वर्षका लागि मुख्य प्रायोजन सम्झौता नवीकरण गरेको छ । योसँगै मञ्च र गोल्छा ग्रुपबीचको सहकार्य १७ वर्ष पुगेको छ, जुन नेपाली खेलकुद अवार्ड इतिहासकै एक लामो र सफल साझेदारी हो । 

null

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यो सहकार्यप्रति गर्व व्यक्त गर्दै यस वर्ष प्रायोजन रकममा ३३ प्रतिशतले वृद्धि गरी करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने जानकारी दिए । उनका अनुसार यसपटक पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ ।

१० विधामा अवार्ड, विजेतालाई मोटरसाइकल र नगद

‘पल्सर स्पोट्र्स अवार्ड २०८१’ मा विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान गरिनेछ । अवार्डमा वर्षका उत्कृष्ट खेलाडी (पुरुष), वर्षका उत्कृष्ट खेलाडी (महिला), युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । 

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तित्वलाई जनही १ लाख रुपैयाँ प्रदान गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । 

गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल, प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ र पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेका थिए । 

Share News