काठमाडौं । महानगरपालिकाभित्रका सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक ५ सय जरिवाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ ।
हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो ।
काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका तीनपारी सवारीसाधन मोटरसाईकल स्कूटरलाई एकहजार जरिबाना गरिनेछ । सबै किसिमका चारपाङ्ग्रे सवारीसाधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिनेछ । मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिनेछ ।
सबै किसिमका ठूला सवारी साधन । बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ । प्रचलित कानूनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्ने महानगरले जनाएकाे छ ।
पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ ।
खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्वीकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ ।
सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, विरुवामा क्षति पुर्याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।