काठमाडौं । चालु संसद अधिवेशन ५९ दिनदेखि बहिष्कार गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नै सार्वजनिक प्रतिबद्धता विपरीत दैनिक बैठक भत्ता र यातायात खर्च संसद सचिवालयबाट बुझेका छन् ।
५९औं बैठकसम्म सदनको गतिविधि बहिष्कार गरेका रास्वपाका सांसदहरूले प्रतिनिधिसभा अवरुद्ध गरेको पहिलो दिनमै दैनिक बैठक भत्ता नलिने घोषणा गरेका थिए ।
संसद सचिवालयका अनुसार रास्वपाले संसद सुरु भएको दिन वैशाख १८ गतेदेखि सुरुमा अवरोध र पछिल्लो समय बहिष्कार गर्दै आएको छ ।
पहिलो दिनको पहिलो बैठक अवरुद्ध गरेपछि संसद भवन परिसरमा पत्रकारहरूले रास्वपाका सांसदहरूलाई सोधेका थिए- ‘सदनको दैनिक कार्यसूचीमा सहभागी नहुँदा पनि तलब भत्ता लिइन्छ कि लिइँदैन ? त्यस जिज्ञासामा रास्वपा सांसद हरि ढकालले भनेका थिए, ‘सदनको कार्यसूचीमा भाग नलिएको समयमा हामी तलब भत्ता लिँदैनौं।’
तर उक्त प्रतिबद्धता विपरीत अघिल्लो महिनाको सबै तलब भत्ता रास्वपाका सांसदहरूको खातामा जम्मा भइसकेको संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले जनाएको छ।
उक्त शाखाका अनुसार मासिक तलबवापत ६६, हजार ७० रुपैयाँ, विशेष भत्ता १ हजार रुपैयाँ, सञ्चार सुविधा ३ हजार रुपैयाँ, धारा-बिजुली खर्च २ हजार रुपैयाँ, बैठक भत्ता १ हजार रुपैयाँ र यातायात खर्च १ हजार रुपैयाँ आवश्यक कर कट्टी गरी सांसदहरूको खातामा पठाइएको हो ।
सांसद सुविधा व्यवस्थापन शाखाका प्रमुख हृदयराम महर्जनले आफ्नो शाखामा कुनै पनि दल वा व्यक्तिले ‘सदन अवरुद्ध भएको समयको तलब सुविधा नलिने’ भनेर निवेदन दिएको जानकारी नभएको बताए।
रास्वपा सांसद तथा प्रवक्ता मनीष झा पनि सदन अवरुद्ध र बहिष्कार भएको समयको तलब भत्ता आफूहरूले बुझेको स्वीकार गर्छन् ।
प्रवक्ता झा भन्छन्, ‘हो, हामीले उक्त समयको तलब भत्ता र सुविधा लिएका छौं । यो नलिनुपर्ने कारण पनि छैन ।’
उनी थप्छन्, ‘हामी दैनिक सिंहदरबार गएका छौं, ‘मिनी संसद मानिने समितिहरूका बैठकमा भाग लिएका छौं।’